पूर्व आकाशमा शुक्र झुल्कँदा
पँधेंराबाट पानी भरेर
घर ल्याइपुर्याएकाे खबर
पश्चिम डाँडामा बास बसेपछि घाम
मेलाे छाडेर भरिलाे डाेकाे
अङ्गरक्षक बनाएर
घर फर्केको खबर
पठाउँछिन मेरी आमा
गाउँबाट म बसेकाे सहरकाे एक गल्लिमा
र भन्नूहुन्छ विहानै जस्केलाबाट
मलाई चिह्याउने घाम हेर्छु ।
तिम्रो अनुहार देख्छु ।
सधैं भरभराउदाेँ लाग्छ ।
तिम्रो उत्सुकता
ताकि म घाम हेरेर तिमीलाई
कल्पना गर्छु ।
कि तिमी पनि चाँडै फर्किआऊ
याे चौघेराले तिमीलाई नै पर्खेकाे छ ।
बाछिटाले छियाछिया बनाएकाे
घरकाे चुलीगाराेले
तिमीलाई नै नियालीरहेकाे छ ।
खाेरीया,कुटाे,काेदालाे,हलाे,फ्याउरी
भन्ज्याङ चौतारी यी सबै सबैले
तिमीलाई नै खाेजिरहेका छन्
आँगन आँगन जस्तै नरहेकाे वर्षौ भयाे
बाँसुरी पनि बज्दैन गाउँमा
सारङ्गी पनि गाउँदैन आजकल
चार कुना फेरि नबजेकाे धेरै भयाे
यस्तै छ गाउँमा
तिमीले साेइसाेइला खेल्ने
फुर्के सल्ला ठुलाे भइसक्याे
तिमीले राेपेकाे पिपिरिकाे बाेटमा
फिस्टाले घरजम बसाइ सक्याे
तिमीलाई जिस्काई हिड्ने
त्याे कुक्कु चरा पनि तिमी नहुँदा
गाउँ आउनै छाड्याे
तिमी हिडेपछि यस्तै छ ।
गाउँको खबर
म चाहन्छु यी सबै सबैहरुले
तिमीलाई खाेज्दै खाेज्दै
सहरसम्म जान नपराेस्
अनि तिमी जसरी नै उतै
सहरतिर लिसाेमा फस्न नपराेस्
किन कि यी सबैबिना त
तिम्री आमा एक्लि हुनेछिन् गाउँमा ।
