त्यस दिन

गाउँ ब्यूझिएको थिएन

गम्लङ भुइँ कुहिरो आेढेर

रक्तिम सपना कोरलिरहेको थियो नदि

उज्यालोको कठघरामा ठिङ्गिने तालिका

पढिरहेका थिए जून - ताराहरु

यहीँ बेला

माटाेकाे एक निधार टीका पोतेर

परिवर्तन खोजी ल्याउने

अदम्य साहस बोकेर घर छाडयो आइतेले

बुढाे आयु बाेकेर

अजङ्गको पहाड उभिन्छ अध्याराे

छिप्पिएकाे ठिही बाेकेर

उसको कन्चट भत्काउन खाेज्छ हावा

उ तुषाराेकाे चम्पा बजाउँदै

आफ्नाे बाटाे हिडिरहन्छ ।

याे बेलासम्म ...

ब्यूँझेकाे हुदैन समय

बाँसझ्याङ्गमा लाप्पा खेल्दैनन्

रुपीहरु पनि

खन्युकाे टाेड्काबाट

चियाउदैन कुनै लाटाेकाेसेराे

सालघारीतिर फाेप्राेम्मा कराउदैन संधै झै

सायद

आइतेले गाउँ छाड्ने थाहा पाएर

स्तब्ध छन् उनीहरू

वर्षौ पछि ...

आइते हिडि गएकाे बाटाेमा

बनाएकाे छ नयाँ चौतारा

राखिएको छ सिलालेख

र खाेप्पिएकाे छ

महान सहिद आइतबहादुर

करुणा राई // कविता अभिलेखालय // RECORD #28