म पानीको पछिपछि लागेर

समुद्रमा पुगूँला

धुँवाकाे पखेटा लगाएर

तिमी उतै उडी आउनू

फिपिभरि राखेर सिलुङ्गीकाे माला

तिम्राे स्वागत गर्न पर्खुला

तिमी उतै उडी आउनू

साेचे जस्ताे सजिलाे

कहाँ हुँदाे हाेला र ?

पानीको यात्रा

बगिजानेहरुलाई अल्झाउन

बाटाे ढुकिबस्दा हुन अङ्कुसेहरु

भेटिँदाे हाे

दु;खकाे गीत गाउदै झरिरहेकाे झर्ना

पखेटाबाट छुटिगएका प्वाँखहरु

अल्झि बसेका हाेलान

पर्खेर आफ्नाे प्रियजनहरुलाई

जिउँबाट पात उखेल्दै नाउँ बनाएर

पानीमा आफैलाई हेलिपठाउने

रुखहरु पनि त हुँदा हुन बाटामा

पहराले दर्सिनढुङ्गा फुटाउन

जाेडले पछार्दाे हाे पानीकाे गैँती

तप्कनाकाे छिनाेले खाेपिरहेकाे

ढुङ्गाकाे कुरुप बैँस भेटिदाे हाे

यात्रामा......

बेठेगान कुदिहिँड्ने तिनै पानीबाट

कुमारित्व लुटाएका मगरकाँचीहरु

आफ्नै आँसुमा तैरिरकेका हुँदा हुन्

पानीसँगै बगिजानेहरुलाई

हेरिपठाउँदा हुन्

आदिबासी फूलहरुले

साँच्चै साेचेँ जस्ताे सजिलाे

नहुँदाे हाे पानीको यात्रा

यात्रामा !

दुःखकाे निथार मात्रै भए पनि

साँचेर आफुलाई पुर्याउनेछु समुद्रमा

निख्रिरहेकाे धुँवाकाे उमेर

नआइन्जेलसम्म

म आकाश हेरिरहनेछु ।

करुणा राई // कविता अभिलेखालय // RECORD #13