आफुसंग बाँकी रहेको

हड्डि र छालाले अल्झिएकाे

खुर्पे शरिर छ म संग

तिमीले भनेका थियौ

झुक्किएर पनि मेराे खबर नसाेध्नु

त्यसैले दिनचर्या आफ्नाे सम्झन्छु

मेराे सहारामा प्याराे एउटा लौराे छ

जाेबिना उभिन सक्ने मेराे ताकत पनि छैन

म जति पनि काम गर्छु उसैकाे भरमा गर्छु ।

तिमीले भुल्याै कि सम्झिरहेका छौ ?

उहिले यति धेरै समय थियाे कि हामीसँग

हल्लिरहेकाे रुखकाे हाँगाहरुबाट

हावा खाेसेर त्यही रुखकाे फेदलाई

साँक्षि राखेर गफिन्थ्यौ ।

हामीलाई देखेर डाहा गर्दै उड्ने चराहरु

झर्काे लगाउन खप्पिस झ्याउकिरीहरु

हामी जस्तै पाका भए हाेलान् है ?

रुखकाे सिँयालमा उभिएर

तल लाम्पातेकाे वाेटलाई

ताकी ताकी ढुङ्गाले हानेर लगाउँदा

एक हात माथि उफ्रिदै खुशि हुन्थ्यौ तिमी

सानाे कुरामा अत्ति दुखि

र सानाे कुरामै असाध्यै खुसी हुने

तिम्रो वानी ठ्याक्कै बच्चाकाे जस्तै थियो

अहिले पनि मसंग थुप्रै समय छ ।

त्यसैले तिमीलाई सम्झिरहन पाएकाे छु ।

जून समय भएको थियाे

हाम्रो अन्तिम भेट

हाे त्यही समयबाट

म तिमीलाई सम्झेर पनि नसम्झे झै बाँचिरहेकाे छु ।

आज भाेली म पहिला चस्मालाई हेर्छु

त्यसपछि मैले हेर्नु पर्ने कुराहरु चस्माले देख्छ ।

त्याे बेला उपहारमा तिमीले

दिएकाे फूलकाे बिरुवा,

बारैमास फूल्छ बगैचामा।

लौरोले डाेर्याउदै डाेर्याउदै लगेर राखिदिन्छ,

मलाई उसैकाे नजिक

म त्यही फूल हेरेर मुस्कुराउँछु ।

जसरी त्याे बेला म तिमीलाई हेरेर मुस्कुराउथे

याे बेला

कलेटी परेका छन् आेठ

फूल टिपेर चुल्ठाेमा सिउरनलाई

कालाे कपाल पनि छैन

तिम्रो नजिक पुग्नलाई त झन

मसंग घाइते सम्झना बाहेक

अर्थाेक केही छैन् ।

करुणा राई // कविता अभिलेखालय // RECORD #43