हराएर चाबी

वर्षौदेखि बन्द भएको

कन्तुर फोर्न त फोरेँ

लुकाइ राखेकाे पत्र

धुवाँले आफ्नै रङ्गको बनाएछ

एक एक गरी पल्टाएँ

ह्ववार ह्ववार्ती निस्किएकाे थियाे

तितो सम्झना

तिम्राे बैँसालु हातले

खुब मेहनत गरेर खिपेकाे हुन पर्छ।

याे कागज र त

जस्ताकाे त्यसतै छ अक्षर

तिमीले के भकेकाे हाेला

याे लामबद्ध अक्षरमा

मन कम्ता पाेलेकाे थिएन

खुशिले ऊबेला !

मन मन न हाे

चाहे उहिले हाेस या अहिले

म त्यही पोलिरहेको खुशी

बल्झाएर उभिएको छु

तिम्रो पत्रको अगाडि

उहिले मसँग फर्काउनलाई

तिम्रो पत्रको जवाफ नभएपछि

तिमीले बाँकी अक्षरहरु अन्तै साटेका थियौ

तिम्रो सम्झना साट्न नसकेर

त्यही सम्झानाले जिवित बनाइ राखेको हुँ

मैले आफुलाई अहिलेसम्म

उहिले जस्तै अहिले पनि

तिम्रो अक्षर म जस्तै लाटाे छ

तिम्रो अक्षरले मलाई पढ्न सक्दैन

म तिम्रो अक्षर बाेल्न सक्दिनँ

याे थाहा पाउँदा पाउँदै पनि

के ठानेर हो अहिले फेरि

समयले पिल्छिएको रङ्ग जस्तै

कागज पठायौ मसम्म

हैन कत्रो आँट गरेर

डाेरिन सकेको हो

मेरो ज्यानसम्मको बाटो

तिम्रो त्यो पुरानो हुलाकी ?

करुणा राई // कविता अभिलेखालय // RECORD #4