बादल प्वाँल पारेर
आेर्लन्छ घाम
र बाँसझ्याङ्गहुँदी लिङ्गे पिङ
खेलिहिड्छ खुशीले
बेसाहा बेसाउन जाने बाटाे झरीले राेकेर
अलपत्र परेका चराहरु
उमङ्गले गीत गाउदै निस्कन्छन् गुँडबाट
घामकै थुँगा छाेपिल्याउ झै गरेर
जाल बुन्दै उफ्रिन्छ जाली माकुरा
साच्चै खुशी छन् उनिहरु
याे बेला दु:ख बिसाउने शिविर भएको छ घाम
सिगौरीबाट निकालेर
चाउरी परेकाे ज्वारीकाेट
घाममा सेकाउनु हुन्छ बुवा
ढाेक्सेकाे नङगौटाे मकै
आँगनमा फिँजाउनु हुन्छ आमा
अगौटे धान सुनौलो देखिन्छ खेतमा
साच्चै
घाम आेर्लिएपछि
खुशी फुलेकाे छ गाउँमा ।
करुणा राई // कविता अभिलेखालय // RECORD #10