सिमल चौर पल्टेकाे

सुर्के वारि छ ।

बग्दा बग्दै पानी सुकी जाने ढाँडे खेत छ

भत्किदा भत्किदै थाकेर बसेकाे

अलिकति घरकाे फेँद बाँकी छ,

बिस्यार भएको धारा, कुवा

बटुवा पर्खेर बसेकाे देउराली छ

भाँचिएका हाँगाहरु ताेक्चे लगाएर

काल पर्खिरहेको एक्ले वर छ ।

कान्लैभरि सालिमाकाे बुच्कालाई

खम्बा बनाएर घर बनाइ बसेका

झिप्रिके जाेडीहरु छन्

बिहान घाम फुल्ने संसारी डाँडा छ

जून लुकामारी गर्ने बाङ्गे सल्ला

हावा चकाचुली खेल्ने

भुम्चुङ्गे भिर छ ।

यिनिहरु मेरै हाे भन्ने

विस्वासकाे लालपुर्जा मसंग छ ।

भन !

मलाई सुकुम्बासी भन्ने लालपुर्जा काे संग छ ?

करुणा राई // कविता अभिलेखालय // RECORD #34