रक्सी पिउन

मैले सबैथाेक बेचें ।

रक्सी पिउनै

भाइसंगै हुर्किरहेकाे उत्साहकाे खाेरिया बेचें

बहिनिको चाेली बेचें

आफै रक्सी भएर

रक्सी किने

अनि आफैलाई पिएं।

रक्सी पिउन

दिदीकाे सीप बेचें

आफ्नै प्रेमिकाकाे रुप बेचें

दाजुहरुले गुठिरहेकाे पगरी बेचें

भाउजुहरुले फलाएकाे

बालाहरुकाे मुस्कान बेचें

आमाले गरेकाे भराेसा बेचें

पुर्खाहरुले छाडिगएकाे विस्वास बेचें ।

अघाएन रक्सीकाे याे शरीर

रक्सी पिउनै

अनेक सम्झौताकाे हल्लुँडाे बेचें

अब अन्तिम पटक बेच्नु छ

रक्सीको स्वाद चिन्ने याे जिब्रो ।

करुणा राई // कविता अभिलेखालय // RECORD #31