मेराे घर यति फराकिलो छ

कि, अनिकाललाई पनि मेराे घर मन पर्छ

आएर चुला नजिकै बस्छ

र रित्तो तसला र कन्तिसंग जिस्कन्छ

बिहानदेखि साँझसम्म

चिसाे चुला तापेर बस्छ - घाम ।

ताराहरुलाई पनि मेरै घर मा पर्छ

रातभरि धुरिबाट चिहाउछ

र मेराे दुखलाई अझ जिस्काउछ

साँझदेखि बिहानसम्म

जस्केला नजिकै लम्पसार तेर्सिन्छ - अध्याराे भाेक

मेराे घर यति धेरै सुन्दर छ

कि, यिनिहरुले यति धेरै माया गर्छन मेराे घरलाई

जति म याे देशलाई गर्छु ।

करुणा राई // कविता अभिलेखालय // RECORD #37