बिहानीपख सपना नराम्रो देखेरै हाे

सन्च नभएको झुठ बाेलेर

आँखा चिम्म गरेँ ।

मलाई यतिसम्म थाहा छ

त्यस दिन

तिमीले आफै बनाएर

खाएका थियौ खाजा

निस्कँदा कुन साइत थियाे

त्याे बिहान ?

काँधमा हलाे बाेकेर जाँदै गर्दा

सधैं हेरि पठाउने म

त्याे बिहान केही गरीन

रिसाएयौ कि के हाे तिमी ?

र फर्कि नआएका हौ घरसम्म ।

तिम्रो प्राण गएको त्याे खेतमा

तिमीसंगै म भइदिएको भए

ढलेकाे तिम्रो शरीरमा

आँखाभरिका आँसु पाेखेर

अलिकति भए पनि

तिम्रो आयु बढाउने थिएँ

पारि अक्करकाे भिरमा

चिप्लेटी खेलिरहेका बतासलाई

अञ्जुलीमा थापेर

तिम्राे फाेक्साेसम्म पुर्याउने थिएँ

र केहीबेर भए पनि

तिम्रो मुखबाट निस्किएको

स्वाँ ......स्वाँ ....स्वाँ सुन्ने थिए ।

मलाई नजाऊँ नजाऊँ लाग्छ

त्याे खेत र जादिनँ

मलाई नहेरुँ नहेरुँ लाग्छ

जहाँ तिम्राे नापमा काटिएकाे थियाे बाँस

र हेर्दिन त्याे बाँस घारी

तर किन हाे गाेठ माथ्लाेपट्टि

थन्किएको पुरानाे हलाे अनौ

संधै छाेइरहन मन लाग्छ र छाेइरहन्छु

याे अध्रानाे खाङ्गे साँचिरहुँ लाग्छ

र साँचिरहेकाेछु ।

यहाँ म ढल्किरहेकाे आेछ्यानबाट देख्छु

तिमी सुतिरहेकाे त्याे जाेरथुम्कि डाँडा

तिमी पनि सुतेरै हेर्छौ हाेला

आफु फर्कन नसक्ने घर ।

याे बाङ्गे बाङ्गे परेकाे

पाइतलाकाे डाेव हाम्रो सन्तानकाे हाे

माथि गुर्धने डाँडा काटीहिँड्ने

धुमिल छाया हाम्रै सन्तानकाे हाे

याे सबै देखेर तिम्रो पनि मन अमिलाे हुँदाे हाेला

वरिपरि फूलकाे बाेटमा

सन्तानहरुकाे मुस्कान फूल्छ

म फूलका बाेटहरु स्याहर्छु

फूलका थुँगाहरुलाई चुपचाप माया गर्छु

र छाेरा छाेरी काखैमा भएको अनुभुति गर्छु ।

छाेराले सहर बसौ भन्छ

बुहारीले सहरै बस्नु भन्छ

छाेरीले पनि शहर बस्नू भन्छ

नातानातीनीले

गाउँमा एक्लै नबस्नु भन्छ

तिमीलाई मात्रै छाडेर

म कसरी सहर बस्न सक्छु ?

घाम, पानी, गर्मी ठिही सबै सहेर

तिमीले मलाई पर्खिरहेका छौ

त्याे जाेरथुम्की डाँडामा

म कसरी सहर बस्न सक्छु ?

म तिम्रो तस्बिर देखाउँछु

यी तिमीहरूको बाजे

म संगै छ भन्छु

टिलपिल टिलपिलआँसुले भरिएको

उनीहरुकाे आँखा तिम्रो तस्बिरमा टक्क राेकिन्छ ।

र सबै चुपचाप हुन्छ ।

उनीहरुकाे मप्रतिकाे अधिकारलाई

हस्तक्षेप गरेर ठुलाे गल्ती गरेकाे स्वीकार्छु

तर भन्न सक्दिनँ सन्तानहरुलाई

कि याे गाउँमा म स्वतन्त्र छु

तिम्रो कपुरथान हेरेर

जीवन बिताउनु भन्दा ठुलाे सुख

मलाई कुनै सहरले दिदैन

तर पनि उनीहरुकाे सामुन्ने

यो सबै भन्नलाई

कहाँ हिम्मत छ र मसंग ?

करुणा राई // कविता अभिलेखालय // RECORD #19